धेरै टाढा त कहाँ छौ र हामी
यो पृथ्वीको एउटै छातामुनि त छौँ
दुर्भाग्य यत्ति हो
विशाल महासागर छ हामीबीच
वारि म छु, तिमी पारि छौ
थाहा छ-
बाँधिन सक्तैनौँ हामी एक अर्काको अँगालोमा
समाउन सक्तैनौँ एक अर्काको हात
पुछ्न सक्तैनौँ एक अर्काको आँसु
तर पनि यस्तो लाग्छ
यो समुद्रले छुट्याएको छैन हामीलाई
जोडेको छ बरु एकअर्कासँग।
जुनेली रातमा
कालो आकाशको छहारीमुनि
मनमुग्ध शीतलताले मातिएर
म बस्छु समुद्रवारि
बस्छ्यौ तिमी समुद्रपारि
यो टुक्कीजस्तो जूतसँग
खुब बात मार्छौँ हामी
गफिन्छौँ रातभर
रुन्छौँ कहिले
समुद्रको नुनिलो पानीमा
नुनिला आँसुहरु मिसाउँदै
हाँस्छौँ कहिले
छालको तालहरुसँग
लयमा लय मिलाउँदै
गुनगुनाउँछौँ गीत कहिले
लगाउँछौँ प्रित कहिले
सुसेली हाल्छौँ कहिले
फाटेको मन टाल्छौँ कहिले
सानोमाझैँ कागजको डुङ्गा बनाएर
पानीमा बगाउन मिल्ने भए
बगाइदिन्थे होला यो किनारबाट
पुग्थ्यो होला तिमी भएको किनारतर्फ
पठाउँथे होला त्यसमा आफूभित्रका बोझहरु
फुकालेर हलुका बनाइदिन्थ्यौ होला तिमीले पनि।
तर कहाँ मिल्दो रहेछ र ।
नियाल्छु पारि-पारिसम्म
यो विशाल समुद्रलाई
महशुश गर्छु तिम्रो आवरण कतै
भेट्छु तिम्रो शरीरको सुगन्ध कतै
रापिलो हुन्छु तिम्रो न्यानो बाफले
खोलेर दिल मुस्कुराउँछु, तिम्रो आभासले
बरु सुन न
तिमीलाई छोएर आएको
यो हावाबाटै भएपनि
एउटा सन्देश पठाएको छु।
पारि बसेकी तिमी पनि
मलाई महशुश गर्दै छ्यौ भनि
त्यसको जवाफ पठाउ न ल
म कुरेर बसिरहेको छु।
+9779868285040
Email: itsmesundarbc@gmail.com